आजदेखि महानगरको सेवा प्रवाह काठमाडौं प्लाजाबाट - Chaitanya News
  • 2026-06-21
  • 06:55:18
  • आइतबार,आषाढ ०७, २०८३
  • आजदेखि महानगरको सेवा प्रवाह काठमाडौं प्लाजाबाट

    आजदेखि महानगरको सेवा प्रवाह काठमाडौं प्लाजाबाट

    काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौं प्लाजाबाट सेवा प्रवाह गर्ने भएको छ। सुन्धारामा रहेको महानगरको कार्यालय काठमाडौं प्लाजामा सारिएको हो।

    प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाईलगायतका कार्यालय नयाँ भवनमा सारिएको छ। अहिले १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० ठाउँबाट सेवा दिइरहेका छन्।

    महानगरका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले प्लाजामा सरसफाइ गर्ने, इन्टरनेट राख्ने र कोठा विभाजनको काम भैरहेको छ। मर्मत सकिएको विभागमा क्रमिकरूपमा सरेर नागरिकलाई सेवा दिने सहायक प्रवक्ता अधिकारीले बताए। उनका अनुसार सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौं प्लाजामा सर्न लागेको हो।

    नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच गएको चैत आठ गते सम्झौता भएको थियो। हरेक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता गरिएको हो।

    भूकम्पका कारण बागदरबारमा क्षति पुगेपछि विभिन्न ठाउँमा छरिएर सेवा दिनुपर्ने अवस्था थियो। राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन्। सहकारी विभाग बिजुली बजार र सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ। टेकुमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग, जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन्। कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा रहेका छन्।