उठेन राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर - Chaitanya News
  • 2026-07-18
  • 12:44:33
  • शनिबार,साउन ०२, २०८३
  • उठेन राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर

    उठेन राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर

    काठमाडौं- तीन दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन। मेयर बालेन शाहको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।

    काठमाडौं महानगर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले फोहोर उठाउनको लागि मेयर, उपमेयर र अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूसँग कुरा हुन लागेको बताए।

    गत शुक्रबार बसेको बोर्ड बैठक र अन्य बैठकमा समेत बालेनले कुनै छलफल नगरेको कारण फेसबुकमा लेखेको फेसबुकको स्ट्याटसलाई कतिको आधिकारिक मान्न सकिने उपमेयर सुनिता डंगोलले बताइन्।

    यस्तै उक्त अहिले सदन र मन्त्रिपरिषदमा समेत उठेको कारण महानगर कार्यपालिका बैठक पनि छिट्टै बस्ने तयारी गरिरहेको उनले बताइन्। यस विषयमा छलफल भएर छिट्टै नै कार्यपालिकाले निर्णय गरिसक्ने बताउँछिन् उनी।

    मंगलबार सिंहदरबारस्थित सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने बालेनले गरेको घोषणा नीतिगत व्यवस्थाविरूद्ध रहेको बताएकी थिइन्।