काठमाडौं- पूर्वसचिव एवम् लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले सहसचिवमा सिफारिस भएकाहरूलाई निजामति सेवालाई जनमैत्री बनाउन सुझाव दिएका छन्।
काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीले लोकसेवा आयोगबाट सहसचिवमा सिफारिस भएकाहरूलाई बधाई ज्ञापन गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मैनालीले सार्वजनीक सेवामा सहसचिव काम गरेर देखाउने उपयुक्त पद भएको बताउँदै राम्रो गर्न सुझाव दिएका हुन्।
‘सचिवको व्यस्तता निकै धेरै हुन्छ। तपाईंहरू काम गरेर देखाउने ठाउँमा हुनुहुन्छ। सार्वजनिक सेवालाई पारदर्शी बताउँदै जनमैत्री काम गर्नुहोला’, उनले भने। मैनालीले सहसचिवमा सिफारिस हुनुभनेको योजना निर्माण गर्ने तहमा पुग्नु भएको बताए। उनले काम गर्ने सहसचिवलाई कुनै मन्त्रालयमा मन्त्री फेरिँदा फरक नपर्ने बताए।

‘हामीले कुसल प्रशासक कसरी बन्ने भन्ने कुरामा ध्यान दिनुपर्छ। भ्रष्टाचारको सोच कहिले पनि मनमा आउन दिनु हुँदैन। नयाँ-नयाँ प्रविधि र व्यवस्थाबाट राम्रा कुरा सिकेर तिनिहरूको कार्यान्वयनका साथै लागू गर्नुपर्छ,’ उनले भने।
यस्तै चैतन्यका निर्देशक गणेश जोशीले नव सिफारिस सहसचिवहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। उनले विगत दश वर्षदेखि आफूहरूले यस्ता खालका कार्यक्रम गर्दै आएको बताएका छन्।
‘शाखाअधिकृत, सहसचिव, सचिवमा सफल भएकाहरूलाई सम्मान गर्ने हाम्रो चैतन्य संस्कार हो। हामीले विगतका दिनमा पनि यस्ता खालका कार्यक्रम गर्दै आएका छौं। यो चैतन्यको सामाजिक उत्तरदायीत्व पनि हो’, उनले भने। यसका चैतन्यले सुशासन र समृद्धिका क्षेत्रमा पनि विभिन्न बहस चलाउँदै आएको जोशीले बताए।

उच्चतम प्रतिस्पर्धाबाट सहसचिव जस्तो पदमा सिफारिस हुन सफल भएकोमा सबै उम्मेदवारलाई जोशीले बधाई ज्ञापन गरे थिए।
सहसचिवमा सिफारिस हुन सफल मिना गुरुङ, भरत खनाल, पार्वती अर्याल, रामकृष्ण लामिछाने, बद्रिनाथ गैरे, श्यामप्रसाद भण्डारी, पूजा खत्री, अर्जून भण्डारी र भरत शाहलगायतले चैतन्यले आफूहरूलाई बोलाएर सम्मान गरेकोमा खुसी व्यक्त गरेका थिए। ‘चैतन्यले हामीहरूलाई बोलाएर विज्ञ व्यक्तिबाट सिकाइ र प्रेरणादायी अवसर प्रदान गरेको छ। यसका लागि लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ उनीहरूले भने।
उनीहरूले मैनालीले लोकसेवा आयोगको अध्यक्ष भएर खेलेको भूमिका र सार्वजनिक प्रशासनका क्षेत्रमा पुर्याएको योगदानको चर्चासमेत गरेका थिए।