काठमाडौं– मंगलबारदेखि दशरथ रंगशालमा सुरु हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि सबै टोलीले तयारी पूरा गरेका छन्। सोमबारको प्रि–म्याच कन्फ्रेन्समा सातवटै टिमले आफ्नो तयारी र लक्ष्यबारे कुराकानी गरेका थिए।
भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपको उदघाटन खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्नेछ। यो खेल मंगलबार साँझ पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ।
विश्व फुटबल महासंघ फिफाले पाकिस्तानमाथि झण्डै पाँच वर्ष र भारतमाथि दुई साताको निलम्बन फिर्ता लिएपछि दक्षिण एसियाका सातै टिमले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्।
यस पटकको मुख्य विशेषता भनेको नेपालले लगातार दोस्रो पटक महिला साफ आयोजना गर्दैछ।
च्याम्पियनसिप पहिलो पटक दशरथ रंगशालमा आयोजना हुँदैछ । सन् २०१९ मा भएको पाँचौ संस्करण विराटनगरमा खेलाइएको थियो।
यस पटक नेपाललाई घरेलु मैदान र दर्शकअघि उपाधि जित्दै अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधि खडेरी तोड्ने अवसर छ।
अघिल्ला प्रतियोगितामा जस्तै यस पटक पनि भारत र नेपाल उपाधिको मुख्य दाबेदारको रुपमा छन्। भारतले यसअघिका पाँचै संस्करणको उपाधि जितेको छ।
नेपाल चार पटक उपविजेता बन्दा एक पटक सेमिफाइनलबाट बाहिरिएको थियो र पाँचै पटक भारतसँग नै पराजित भएको थियो। यस्तै बंगलादेश एक पटक फाइनल पुगेको थियो।
दोस्रो पटक साफ महिला च्याम्पियनसिपमा नेपालको प्रशिक्षण सम्हालेका कुमार थापाले तीन नयाँ खेलाडीसहित नेपाली टोली घोषणा गरेका छन्।
‘गोल मेसिन’ सावित्रा भण्डारी चोटपछि पुनरागमन गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछिन् । नेपाली टिममा समीक्षा घिमिरे, दीपा शाही र अमिशा कार्कीले पहिलो पटक स्थान बनाएका छन्।
नेपालले तेस्रो पटक घरेलु मैदानमा ठूलो प्रतियोगिता खेल्दैछ। सन् २०१९ मा मार्चमा भएको साफ च्याम्पियनसिप र २०१९ डिसेम्बरमा भएको १३औं साग फाइनल नेपाल भारतसँग पराजित हुँदै उपविजेजता बनेको थियो। यस पटक भारतलाई नै हराएर पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य छ।