काठमाडौं– जेनिश प्रजापतिको निर्णायक गोलमा न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा जेनिशले अन्तिम मिनेट बाँकी रहँदा गरेको गोल निर्णायक बनेपछि एनआरटीले महत्त्वपूर्ण तीन अंक निश्चित गर्यो।
लिगमा पहिलो जित निकालेको एनआरटी रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ।
खेलमा अग्रता भने हिमालयन शेर्पाले लिएको थियो। खेलको १४औँ मिनेटमा खामिर गिल्सनले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। यही गोलमा शेर्पाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो।
तर, ६७औँ मिनेटमा रोहत खड्गीले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए। यस्तै, खेलको निर्धारित समय सकिन अन्तिम मिनेट बाँकी रहँदा जेनिशले निर्णायक गोल गरेपछि एनआरटीले पुनरागमन जित निकाल्यो।
जितसँगै एनआरटीले सात खेलबाट ६ अंक जोडेको छ। हिमालयन शेर्पाले पनि लिगमा सात खेलबाट ६ अंक नै जोडेको छ।