काठमाडों– काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ।
महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो।
‘हाम्रो वडामा सिंहदरबार बाहेक सबै स्थानको फोहोर उठिरहेको छ,’ ११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारले भने, ‘सिंहदरबारको फोहोरबारे वडामा छलफल नभएपनि रोकिएको जानकारी चाहिँ छ।’
फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताए। ‘हामीले सिंहदरबारको फोहोर उठाएर बञ्चरेडाँडा लैजान गरेका थियौं, मेयर साबले फोन गरेर बञ्चरेडाँडामा नलैजानु भनेपछि हामीले रोकेका हौं।
फोहोर उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक समेत रहेका घिमिरेका अनुसार सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उठ्ने गरेको थियो। सिंहदरबारबाट उठेको फोहोर ल्याण्डफिल साइट बञ्चरेडाँडा लैजाने गरेको घिमिरेले बताए।
परिवर्तन सेवा प्रालिले सहरी विकास मन्त्रालय अन्तर्गत ठेक्का मार्फत सिंहदरबारको फोहोर उठाउँदै आएको थियो। फोहोर उठाउन सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले घिमिरेलाई फोन गरेर निर्देशन दिए पनि मेयर बालेनले ‘बञ्चरेडाँडामा सिंहदरबारको फोहोर जाँदैन, तपाईंहरुले नउठाउनुस’ भनेपछि आइतबारदेखि फोहोर रोकिएको हो।