काठमाडौं– काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गरेका प्रसुती गृहका डाक्टर र प्रतिवादीतर्फका बयानकर्तालाई झिकाउन आदेश दिएको छ।
अन्तिम सुनुवाइ गर्नुअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले प्रतिवेदक डाक्टरलाई झिकाउने आदेश आइतवार दिएका हुन्।
अन्तिम सुनुवाइ शुरू नभएको र प्रतिवेदन लेख्ने डाक्टर तथा प्रतिवादीतर्फका बयानकर्तालाई झिकाउने आदेश भएको जाहेरवालाको तर्फबाट बहस गर्दै आएकी वरिष्ठ अधिवक्ता प्रा।डा। शशी अधिकारीले लोकान्तरलाई दिइन्।
प्रसुती गृहकी डाक्टर मनिषा यादवसहित तीनजनाको टोलीले १२ पेजको स्वास्थ्य परीक्षण प्रतिवेदन बुझाएको थियो। डा. यादव जान नभ्याएपछि टोलीकी सदस्य अनामिका झा अदालत गएकी थिइन्।
स्वास्थ्य प्रतिवेदनमा हस्ताक्षर गरेकै डाक्टरलाई झिकाउने आदेश भएको अधिवक्ता अधिकारीले जानकारी दिइन्। प्रतिवादीको तर्फबाट बयान गरेका सजाहक आलम र अनिल श्रेष्ठलाई पनि झिकाइएको छ।
लामिछानेमाथि नबालिक बलात्कारको आरोप छ। काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो।