राजविराज- राजविराज नगरपालिकाका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्। पालिकाका सरसफाइ कर्मचारीलाई त ६ महिनायता तलब दिइएको छैन। समयमा तलब नपाउँदा कर्मचारीलाई घरखर्च चलाउनसमेत समस्या छ।
पालिकाको लेखा शाखाका अनुसार मासिक डेढ करोड रुपैयाँ कर्मचारीको तलब भत्तामा खर्च हुने गरेको छ। राजस्व बाँडफाँटको स्रोतबाट आउने रकमले कर्मचारीको तलब खुवाउँदै आएको नगरपालिकामा यस वर्ष उक्त रकम नआएपछि कर्मचारीलाई तलब खुवाउन समस्या भएको लेखापाल शत्रुधन दासले जानकारी दिए।
यस वर्ष पालिकामा राजस्व बाँडफाँटबाट १२ करोड रुपैयाँ आउने तय भएको थियो। तर, आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी छँदा पाँच करोड रुपैयाँभन्दा पनि कम आएको लेखापाल दासले जानकारी दिए।
उनका अनुसार स्थानीय तहका कर्मचारी, शिक्षा, स्वास्थ्यलगायत कर्मचारीले तलब पाएका छैनन्।