काठमाडौं- वैदेशिक रोजगारीमा गएर उतै प्राण गुमाएकाको नाममा समेत रकम असुली धन्दा चलाएको भेटिएपछि एक जना नासु प्रहरीको फन्दामा परेका छन्। उनीसहितको टोलीले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
यस्तो धन्दामा संग्लग्न गिरोहका नाइके रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका गिरोहले यस्तो धन्दामा सघाउने कर्मचारीमा नासु पशुपति अधिकारीको नाम पोलेपछि उनी प्रहरीको फन्दामा परेका हुन्। अधिकारीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा १३ लाख बीमा बापतको क्षतिपूर्ति पाउने व्यवस्था छ। यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त ७ लाख पनि पाउने व्यवस्था रहेको छ। उनीहरुले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको पाइएको हो।