काठमाडौ– अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व सङ्कलनको अवस्था राम्रो नभएको बताएका छन। शुक्रवार आर्थिक पत्रकार सङ्घ (नाफिज) को छलफल कार्यक्रममा बोल्दै अर्थ मन्त्री महतले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेसको असरले देशको राजस्व सङ्कलन लक्ष्यअनुसार राम्रो नभएको बताएका हुन।
अर्थ मन्त्री महतले आन्तरिक रूपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएका कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गरे। उनले मौद्रिक नीतिका उपकरणहरू प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको बताए। उनले बैंकको कर्जाको ब्याजदर कम गर्नसक्ने अवस्था भए बैंकहरूले सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताए। उनले अर्थतन्त्रको अवस्थाको विषयमा नागरिकलाई सकारात्मक सन्देश दिन आवश्यक रहेको पनि बताए।
मन्त्री महतले अर्थतन्त्र बिग्रियो भने पनि कतिपय तथ्याङ्कहरू राम्रो रहेको बताए। उनले देशमा लगानीको वातावरणलाई सकारात्मक बनाउन मौद्रिक नीति र सरकारको आर्थिक नीति एउटै लक्ष्य प्राप्तिका लागि जान जरुरी रहेको बताए।
उनले भने ,‘अहिले सरकारको राजस्वको अवस्था राम्रो छैन। प्रत्येक वर्ष सरकारले जीडीपी तथा अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राख्दै आएको छ। नजिक–नजिकको लक्ष्य प्राप्त पनि गर्दै आएका छौँ। चालु आर्थिक वर्षमा त्यो लक्ष्य प्राप्त नहुँदा के भयो भन्ने भएको छ। यो वर्ष आयात प्रतिबन्ध, कोरोना महामारीको अवस्था, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशले पनि असर पारेको छ। अर्थतन्त्र बिग्रियो भने पनि कतिपय तथ्याङ्कहरू राम्रा छन्। विदेशी मुद्रा सञ्चिति ठिक छ । नेपाल छिमेकी देशको तुलनामा भारतभन्दा कम भए पनि खराब नै भएको भन्ने छैन।
अर्थ मन्त्री महतले सरकार साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने पक्षमा रहेको बताए। उनले सरकारले साधारण खर्च घटाउने सम्भावना कम भए पनि सरकारले खर्च नगरे पनि हुने खालका खर्चलाई कटौती गर्ने उल्लेख गरे । उनले आउँदो बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरूको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने प्रतिबद्धता जनायो।
मन्त्री महतले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै समयमा खर्च गर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको बताए । उनले पूर्वाधार निर्माणको काम समयमा सम्पन्न नहुने, आयोजनाको लागत बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको बताए।
उनले भने ‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौँ। धेरै मागहरू आए पनि धेरै कम गर्न कोसिस गर्छौँ। सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरूमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छ।’
अर्थ मन्त्री महतलाई नाफिजले देशको वर्तमान अर्थतन्त्रको अवस्थालाई हेरेर आउँदो वर्षको बजेट बनाउन सुझाव दिएको छ। नाफिजले श्रमजीवी पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न सरकारले कार्यक्रम नै बनाउनुपर्ने माग पनि राखेको छ।