गोरखा अस्पतालमा आईसीयू सेवा सुरु, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन - Chaitanya News
  • 2026-05-02
  • 17:54:59
  • शनिबार,बैशाख १९, २०८३
  • गोरखा अस्पतालमा आईसीयू सेवा सुरु, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

    गोरखा अस्पतालमा आईसीयू सेवा सुरु, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

    गोरखा – गोरखा अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु गरेको छ। अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आज शुक्रवारदेखि आईसीयू सेवा सुरु भएको हा । पाँच शय्याको आईसीयू कक्षको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

    ५० शय्याको गोरखा अस्पतालमा शय्यालगायतका उपकरण उपलब्ध भए पनि आईसीयू सेवा सुरु हुन सकेको थिएन। तर कोरोना सङ्क्रमण उच्च भएको बेला अस्पतालले २२ शय्यासम्मको एचडीयू सेवा उपलब्ध गराएको थियो। त्यो सेवालाई पाँच शय्यामा कायम राख्दै पाँच शय्याकै आईसीयू सेवा पनि सुरु गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए। आईसीयू नहुँदा उच्च जोखिममा रहेका बिरामीलाई उपचारका लागि चितवन, काठमाण्डौलगायतका अस्पतालमा रेफर गर्ने गरिएको थियो।

    यो सेवा उपलब्ध भएपछि जोखिमयुक्त बिरामीको शल्यक्रिया गर्न पनि सहज हुने अस्पतालका सूचना अधिकारी ढकालले बताए। आईसीयू कक्षका लागि आवश्यक पर्ने जनशक्ति एक महिनाअघि नै व्यवस्थापन भइसकेको अस्पतालले जनाएको छ।

    आईसीयू कक्ष उद्घाटनसँगै अस्पताल परिसरमा आयोजित स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोरखाको विकासको सन्दर्भमा व्यक्त गरिएका चुनावी प्रतिबद्धता क्रमैसँग पूरा गर्दै जाने बताए। बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम केही हप्ताभित्रै शिलान्यास गरिने उनको भनाइ छ। यस्तै गोरखकाली रबर उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको पनि प्रचण्डले बताए। पालुङटार विमानस्थललाई हवाई प्रशिक्षण स्थलका रूपमा विकास गर्नेबारे पनि छलफल भइरहेको उनको भनाइ छ।

    ‘भर्खरै सरकारले सय दिन पूरा गरेको छ, राजनीतिक हिसाबले यो सय दिन निकै उतारचढावमय रह्यो’, प्रधानमन्त्री प्रचण्डले भने तर जहाँ आएर ल्यान्ड हुनुपर्ने थियो, त्यही भएको छ। राजनीतिक स्थिरता प्राप्त भएको छ।’

    त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले स्वर्ण जयन्ती स्तम्भ अनावरण, स्मारिका विमोचन र कर्मचारीहरूलाई सम्मान गरे। गोरखा अस्पतालको स्थापना २०२९ साल चैत २४ गते भएको हो। १५ शय्याबाट सेवा सुरु गरेको अस्पतालले २०६९ सालदेखि ५० शय्यामा स्तरोन्नति गर्दै सेवा सञ्चालन गर्दै आएको छ।

    यसअघि माओवादी केन्द्र गोरखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार गठन भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सङ्केत देखापरेको बताए । यस्तै जिल्लाका कार्यालय प्रमुखहरूसँगको बैठकमा उहाँले मिटरब्याज पीडितहरूको समस्याको छिटो किनारा लगाउन निर्देशन दिए। मिटर ब्याज पीडितको माग सम्बोधनका लागि केही दिनभित्रै ऐन जारी हुने पनि उनले जानकारी दिए । बैठकमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले जिल्लाका विभिन्न समसामयिक सवालबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।