खेलकुदले व्यक्तिलाई असल राजनीतिक संस्कार सिकाउँछ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-07-03
  • 22:52:10
  • शुक्रबार,आषाढ १९, २०८३
  • खेलकुदले व्यक्तिलाई असल राजनीतिक संस्कार सिकाउँछ : अध्यक्ष ओली

    खेलकुदले व्यक्तिलाई असल राजनीतिक संस्कार सिकाउँछ : अध्यक्ष ओली

    बुटवल — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र होइन, असल राजनीतिक संस्कार सिकाउने बताएका छन्। विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने उनले बताए।

    लुम्बिनीमा बिहीबार आयोजित मदन भण्डारी स्पोर्टस् एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले खेलकुदलाई बृहत्‌रुपमा बुझ्न र सबैका लागि खेलकुदको अवधारणालाई कार्यान्वयन लैजान आग्रह गरे। ‘खेलकुदले व्यक्तिलाई स्वस्थ र प्रतिस्पर्धी बनाउँछ। प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने विधि सिकाउँछ,’ ओलीले भने, ‘यसैले खेल व्यक्ति(व्यक्तिले खेल्न र स्वस्थ प्रतिस्पर्धामा उत्रने बानीको विकास गर्न आवश्यक छ।

    उनले खेलकुदले इज्जत, प्रतिष्ठा, राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको भन्दै अब संमृद्धिका लागि पनि खेल आवश्यक रहेको बताए। ‘खेल प्रतिस्पर्धाहरु बढाउनु पर्छ। खेलेर पनि संमृद्ध बन्न सकिन्छ भन्ने बनाउनुपर्छ,’ ओलीले भने।

    अध्यक्ष  ओलीले खेलसम्बद्ध संस्थाहरुले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने अभियान थाल्नुपर्ने बताए। त्यस्तो अभियानको थालनी मदन भण्डारी स्पोर्टस् एकेडेमीबाट भएको बताउँदै यसलाई अझ विस्तार गर्न सुझाव दिए। आफूले खेल विकास र पूर्वाधार निर्माणलाई सधै प्राथमिकता दिएको भन्दै खेल सम्बद्ध संस्थाहरुले पनि राज्यलाई झकझकाउनु पर्ने बताए।

    पूर्वअर्थमन्त्री विष्णु पौडेलले खेलकुदको पूर्वाधार विकासलाई आफूले सधैं प्राथमिकता दिएको बताए। सुरु खेल पूर्वाधारहरु सकिँदा धेरै खेलाडीलाई खेल अभ्यास र प्रतिस्पर्धामा सहज हुँदै जाने उनको भनाइ थियो । खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि लगानी बढाउनुपर्ने उनले जोड दिए।

    मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुद विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिस्पर्धालाई अगाडि बढाएको बताए। देशका ६५ जिल्लामा शाखा विस्तार गरेको बताउँदै उनले आउँदो तीन महिनाभित्र ७७ वटै जिल्ला र स्थानीय तहमा शाखा विस्तार गरी काम थाल्ने जनाए।