गोदाममै थन्कियो रासायनिक मल - Chaitanya News
  • 2026-11-09
  • 22:21:19
  • सोमबार,कार्तिक २४, २०८३
  • गोदाममै थन्कियो रासायनिक मल

    गोदाममै थन्कियो रासायनिक मल

    काठमाडौं– बेलाबेलामा मल नपाएर किसानदेखि राजनीतिक दलले पनि विरोधका कार्यक्रमहरू गर्दै आएका छन्। तर, जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयको गोदाममा ठूलो मात्रामा रासायनिक मल थन्क्याएर राखिएको छ।

    स्थानीय तहको आन्तरिक विवादका कारण स्थानीय तहमा रहेका सहकारीहरूले खरिद गर्न नसक्दा रासायनिक मल गोदाममा थन्किएको छ। सो कार्यालयका प्रमुख रविकुमार केसरीले सिजनमा स्थानीय तहले आन्तरिक विवादका कारण सिफारिस नदिँदा धनुषा र महोत्तरी जिल्लामा रहेका २ सय ६ वटा बिक्रेताहरूलाई मागअनुसारको मल उपलब्ध गराउन नसक्दा गोदामा मल थन्किएको बताए।

    अहिले सो कार्यालयको गोदामा युरियाँ १ हजार २ सय ९८ दशमलव ४ सय ५० मेट्रिकटन, डीएपी १ सय २ दशमलव १ सय ५० मेट्रिकटन र पोटास ६ दशमलव ५० मेट्रिकटन मौज्दात अवस्थामा छ। सो कार्यालयले २०७९ साउनदेखि चैत २१ गतेसम्म १७ करोड १३ लाख ९३ हजार ३ सय ५ रुपैयाँबराबरको युरिया ३ हजार ८ सय ४१ दशमलव ८ सय ५० मेट्रिकटन, डीएपी २ हजार ३ सय ८ दशमलव ९ सय मेट्रिकटन र पोटास २ सय १५ दशमलव ९ सय ५० मेट्रिकटन बिक्री गरेको छ।

    संघीय सरकारले धान गहु, मकै र तरकारी खेती गर्ने किसानहरूलाई प्राथमिकता राखी सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउँदै आए पनि मल समबन्धमा सिफारिस गर्दा स्थानीय तहले विवाद गर्ने र समयमा सिफारिस नगर्दा थोक बिक्रेताहरूले माग गरेजति मल दिन नसक्दा बढी मल थन्किएको प्रमुख केसरीले बताए।

    सरकारले किसानहरूलाई सहुलियत दरमा युरिया मल प्रतिबोरा ८ सय ४३, डीएपी प्रतिबोरा २ हजार २ सय ९३ र पोटास प्रतिबोरा १ हजार ६ सय ९३ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ। तर, धनुषा र महोत्तरीका थोक बिक्रेताहरूले दुर्गम गाउँमा सो मल ढुवानी खर्च बढी लाग्ने, बाटोमा प्रहरीले क्षमताभन्दा बढी लोड गरेको भनेर जथाभावी रकम माग्ने गरेकाले महगोमा मल बेच्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।

    जनकपुर शाखाबाट ७० प्रतिशत मलको कारोबार भए पनि बिक्रेताहरूले मागे जति मल उपलब्ध नगराउँदा अहिले पनि कति ठाउँमा मलको समस्या देखिएको छ।

    यता, कृषि सामग्री कम्पनी लिमिटेड ढल्केवर धनुषाको गोदामा पनि मल थन्क्याएर राखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि चैत २१ गतेसम्म ४२ करोड ४९ लाख ३ हजार ८ सय २९ रुपैयाँ मूल्यबराबरको युरिया २ हजार १ सय २८ दशमलव ६ सय मेट्रिकटन, डीएपी १ हजार ३ सय ४० दशमलव ५ सय ५० मेट्रिकटन र पोटास १ सय ७४ मेट्रिकटन बिक्री गरेको प्रमूख ध्रुव साहले बताए। उनले अहिले पनि गोदाममा युुरिया ३ सय ४४ दशमलव ४ सय ५० मेट्रिकटन र डीएपी ९६ दशमलव ९ सय मेट्रिकटन मौज्दात रहेको बताए।

    ढल्केवर शाखा कार्यालयले धनुषा र महोत्तरीका उत्तरी क्षेत्रका विभिन्न ६८ वटा थोक बिक्रेता तथा किसानहरूलाई मल उपलब्ध गराउँदै आएको छ।