काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सोमबार १०० दिने कामको फेहरिस्त सार्वजनिक गरेको छ। सय दिनमा दुई गठबन्धन बनेको प्रचण्ड सरकारले सरकारका काम सार्वजनिक गर्न कुनै औपचारिक कार्यक्रम गरेन, मिडियालाई ३७ बुँदासहितको सूची पठायो।
१०० दिनको अवधिमा प्रधानमन्त्रीसहित ३४ जना मन्त्री बन्दा १७ जनाले राजीनामा दिइसकेका छन्।
एमाले नेतृत्वको सातदलीय गठबन्धनबाट पुस ११ गते प्रधानमन्त्री बनेका प्रचण्डले सुरूमा ८ सदस्यीय मन्त्रिमण्डल बनाएकोमा माघ ३ मा एमाले, रास्वपा र राप्रपाकालाई थप्दै मन्त्रिपरिषद्लाई २३ सदस्यीय पुर्याएका थिए।
कांग्रेस नेतृत्वको गठबन्धन बनेपछि प्रचण्डले चैत १७ मा एक राज्यमन्त्रीसहित १७ सदस्यीय क्याबिनेट बनाएका छन्।
योबीचमा एमाले, रास्वपा, राप्रपा र जनमत गरी चार दल सरकारबाट बाहिरिए।
एमाले उपाध्यक्ष विष्णु पौडेल ६४ दिन उपप्रधान एवम् अर्थमन्त्री बनेका छन्। पुस ११ मा प्रधानमन्त्रीसँगै शपथ लिएका उनले फागुन १६ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्तापछि राजीनामा दिए। एमालेबाटै ज्वालाकुमारी साह ६४ दिन मन्त्री बनिन्। पुस ११ मै नियुक्त भएकी उनी २२ दिन विनाविभागीय र पछि कृषि तथा पशुपन्छी विकासमन्त्री भइन्। एमालेकै दामोदर भण्डारी, राजेन्द्रकुमार राई पनि २२ दिन विना विभागीय भएर ४२ दिन मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्रीको सूचीमा नाम लेखाए।
एमालेकै विमला राई पौड्यालले परराष्ट्रमन्त्रीका रूपमा र भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएर ४२ दिन काम गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा एक राज्यमन्त्रीसहित ४ जना सरकारमा गएका थिए। माघ ३ मा नियुक्त भएका उनीहरूले ४१ दिनपछि मागुन १४ मा राजीनामा दिए। राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, विक्रम पाण्डे शहरी विकास मन्त्री, ध्रुवबहादुर प्रधान कानून र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए।
यता जनमत पार्टीबाट पुस ११ मा मन्त्री बनेका अब्दुल खान ले पनि नयाँ गठबन्धनको मन्त्रिपरिषद् विस्तारकै दिन चैत १७ मा राजीनामा दिए। २२ दिन विनाविभागीय मन्त्री बनेका उनले ७४ दिन खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
एमाले नेतृत्वको गठबन्धनमा रवि लामिछानेको नेतृत्वमा सरकारमा गएको रास्वपाका ४ मन्त्री पनि यो सय दिनकै बीचमा बाहिरिए। उपप्रधानसहित तथा गृहमन्त्रालयमा गएका रवि नागरिकता विवादसम्बन्धी मुद्दामा दोषी ठहरिएसँगै सांसद र मन्त्रीबाट बाहिरिनुपर्यो। उनी ३२ दिनमा मन्त्रीबाट बाहिरिएका थिए। पछि सत्ता समीकरण फेरिएपछि रास्वपाका अन्य तीनजनाले राजीनामा बुझाए। सरकारमाथिको समर्थन भने रास्वपाले कायमै राखेको छ।
रास्वपाबाट उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री, डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री बनेका थिए। माघ ३ गते मन्त्रीमा नियुक्त भएका उनीहरू २० दिन मन्त्री बनेर मन्त्रालयको पूर्वमन्त्रीको सूचीमा अटाएका छन्।
प्रचण्डले पुस ११ मा नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका थिए। चैत १७ गते मन्त्रिपरिषद् विस्तार गर्दा श्रेष्ठलाई गृहमा सारिएको छ। अहिले माओवादीबाट शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार, सुदन किराँती संस्कृतिमन्त्री पर्यटन तथा नागरिक उडड्यनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुशिला श्रीपाईली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका छन्।
१७ गतेकै मन्त्रिपरिषद् विस्तारबाट कांग्रेसका ४ जना थपिएका छन्। जसमा पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, सीता गुरुङ शहरी विकास र रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री छन्।
सत्तारुढ घटक नेकपा एसबाट डा.बेदुराम भुसाल र प्रकाश ज्वाला पहिलोपटक सिंहदरबार छिरेका छन्। भुसाल कृषि र ज्वाला भौतिक पूर्वाधारमन्त्री छन्।
जसपाबाट अशोक राई शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, नेपाल समाजवादी पार्टीबाट महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ साथै नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री छन्।