उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने, भोलि छानविन - Chaitanya News
  • 2026-07-03
  • 18:34:09
  • शुक्रबार,आषाढ १९, २०८३
  • उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने, भोलि छानविन

    उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने, भोलि छानविन

    काठमाडौं-  निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज (मंगलबार) उजुरी दिन सकिने जनाएको छ ।

    आयोगले उम्मेदवारविरुद्ध विरोधमा उजुरी दिने समय आज (मंगलबार) बिहान १० देखि अपरान्ह ३ बजेसम्म निर्धारण गरेको छ । आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची गए राति प्रकाशन गरिसकेको छ ।

    चितवन–२, बारा–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि आयोगले सोमबार उम्मेदवारी दर्ता गराइसकेको छ । निर्वाचन कार्यतालिका अनुसार ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

    उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको पनि आयोगले जनाएको छ । उम्मेदवारी फिर्ता लिन इच्छुकले चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

    सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने कार्यक्रम छ । निर्वाचन कार्यतालिका अनुसार वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ ।