अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिन्छ : उद्योगमन्त्री रिजाल - Chaitanya News
  • 2026-05-01
  • 23:01:58
  • शुक्रबार,बैशाख १८, २०८३
  • अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिन्छ : उद्योगमन्त्री रिजाल

    अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिन्छ : उद्योगमन्त्री रिजाल

    काठमाडौं– नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिने बताएका छन्। सोमबार नेपाल उद्योग परिसंघसँगको भेटमा उनले यस्तो बताएका हुन्।

    परिसंघले उद्योगमन्त्री समक्ष उद्योगी व्यवसायीहरुको मनोबल उकास्ने काम गर्न माग गरेको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त मन्त्री रिजाललाई बधाई तथा शुभकामना दिंदै विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो।

    परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढाउन आवश्यक रहेको बताए। मागमा आएको उच्च संकुचनका कारण नयाँ लगानीका योजना ठप्प भएको, मनोबल निकै खस्किएकाले यसबाट निकास दिनुपर्ने उनको सुझाव छ। कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगहरुको योगदान निरन्तर घट्दै गएको भन्दै अध्यक्ष अग्रवालले अर्थतन्त्रमा उत्पादनमूलक उद्योगहरुको योगदान बढाउने वातावरण बनाउनुपर्ने बताए।

    उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे। उनले परिसंघले औद्योगिकीकरणलाई बढावा दिन सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको “मेक इन नेपाल– स्वदेशी” अभियानका बारेमा जानकारी गराए। परिसंघले आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउन पनि आग्रह गरेको छ।

    परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव बुझ्दै उद्योग मन्त्री रिजालले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिएको बताएका हुन्। मुलुकलाई सम्वृद्धि बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भन्दै उनले निजी क्षेत्रको समस्या समाधान गर्न प्रभावकारी रुपमा लाग्ने बताए। ‘म निजी क्षेत्रको साथमा छु । निजी क्षेत्रको समस्या समाधान गर्न पूर्ण रुपमा लाग्नेछु, चिन्ता नगुर्न’ उनले भने।