काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
दक्षिण एसियाली फुटबल संघ ९साफ०को कार्यक्रम अनुसार एन्फाको आयोजनामा हुने साफ महिला च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुँदै छ। प्रतियोगिताका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले यस प्रतियोगिताले नेपालमा महिला फुटबलको माहोल बढ्ने विश्वास व्यक्त गरे।
एन्फाको नयाँ कार्यसमिति आएपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो। यस प्रतियोगिताले नेपालमा महिला फुटबललाई नयाँ उचाईमा पुर्याउन मद्दत पुग्ने विश्वास लिएका छौं,” संयोजक खड्काले भने, “यसले काठमाडौंमा फुटबलको माहोल बढाउन पनि मद्दत गर्ने विश्वास गरेका छौं।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ। लिगकम नकआउट प्रणालीका आधारमा खेलाइने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, श्रीलंका र भुटान छन्। समूह ‘बी’मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्। प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिता संचालनमा एन्फाले झन्डै साढे तीन करोड रुपैयाँ लाग्ने अुनमान गरेको छ। एन्फालाई साफले २ लाख ५० अमेरिकी डलर सहयोग गर्ने संयोजक खड्काले बताए। एन्फाले प्रतियोगिता टेलिभिजन ब्रोडकाष्टिङ, डिजिटल मार्केटिङ र टिकेटिङको अधिकार हन्ड्रेड स्पोटर््सलाई ६२ रुपैयाँमा बिक्री गरेको छ।
प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम नेपाल आइसकेको छ। बाँकी टिम ४ सेप्टेम्बरसम्म काठमाडौं आइपुग्ने संयोजक खड्काले बताए। प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फको टिकट दर ३०० र भीआईपीतर्फको प्यारापिटतर्फको टिकट दर ५०० रुपौयाँ राखिएको एन्फाले जनाएको छ।