घटेर आयो इन्धनको मूल्य, निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा - Chaitanya News
  • 2026-05-01
  • 23:02:12
  • शुक्रबार,बैशाख १८, २०८३
  • घटेर आयो इन्धनको मूल्य, निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा

    घटेर आयो इन्धनको मूल्य, निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा

    काठमाडौँ-  इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो ।

    नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपैयाँ ७४ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घद्दै गएकाले नयाँ मूल्य घटेर आएको हो ।

    हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेलको १७५ रुपैयाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा बैङ्किङ क्षेत्रमा देखिएको मन्दी र समस्याका कारण कच्चा तेलको खपतमा कमी आएको र त्यसले मूल्यमा गिरावट ल्याउँदै आएको छ ।

    खपत कम हुनुले गर्दा पेट्रोलियम पदार्थ रिफाइनरी गर्ने कम्पनीहरूको लागतमा पनि कमी आएकाले नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेको निगमको भनाइ छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबापत आईओसी र सरकारको ऋण गरेर १६ अर्ब बक्यौता तिर्नुपर्ने थियो । हाल नाफामा रहेका कारण उक्त बक्यौता घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ ।