प्रधानमन्त्रीले मिटर ब्याजपीडितहरुलाई भेट्न बालुवाटारमा बोलाए - Chaitanya News
  • 2026-05-21
  • 09:29:03
  • बिहिबार,जेठ ०७, २०८३
  • प्रधानमन्त्रीले मिटर ब्याजपीडितहरुलाई भेट्न बालुवाटारमा बोलाए

    प्रधानमन्त्रीले मिटर ब्याजपीडितहरुलाई भेट्न बालुवाटारमा बोलाए

    काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत मिटर ब्याजपीडितलाई भेट्नका लागि बोलाएका छन् । उनले अहिले बिहान मिटर ब्याजपीडितसँग बालुवाटारमा भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    मिटर ब्याजीले उठिबास लगाएपछि न्याय माग्दै पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् । सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ । पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका लागि हरेक जिल्लामा छुट्टै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भए पनि वार्ता टुंगिएको छैन ।

    आज प्रधानमन्त्रीलाई भेटेपछि सहमति हुने मिटरब्याज पीडितहरुको आशा गरेका छन् । मिटर ब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानका अनुसार कानुन बनाउने मागमा सरकार सहमत भए पनि पहिलेका घटनालाई कसरी सम्बोधन गर्ने भन्नेमा सरकारी टोलीले अझै विश्वास दिन सकेको छैन ।

    मिटरब्याज पीडितहरुले दोषीलाई कारबाहीसँगै तमसुक व्यवस्था खारेज हुनुपर्ने, साहुकारको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था गर्नुपर्ने, बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका १० बुँदे माग गरेका छन् ।