काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले कांग्रेस परित्याग गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले घण्टी चुनाव चिह्न लिएर उपनिर्वाचनमा उम्मेदवार बन्ने बताएका छन्। बिहीबारमात्रै कांग्रेस छोडेको घोषणा गरेका वाग्ले रास्वपाको उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा तनहुँ– १ बाट चुनाव लड्न तयार भएको बताइएको छ।
रास्वपाका महामन्त्री तथा प्रवक्ता ढकालले कांग्रेस त्यागको घोषणा गर्नुपहिला वाग्लेसँग छलफल भएको जानकारी दिए । साधारण सदस्य बनेर चुनाव लड्नुहुन्छ । त्यसपछि पार्टीमा सहभागी हुनुहुन्छ, ढकालले भने ।
पार्टीमा वाग्लेलाई कुन पद दिने भन्ने विषयमा अहिले कुनै समझदारी नभएको पनि ढकालको भनाइ छ । उहाँसँग सकारात्मक कुरा भएको छ, ढकालले भने । नयाँ पार्टी भएकाले विभिन्न पद खाली रहेको र त्यहाँ वाग्ले जस्ता नेताहरूलाई सहभागी गराउन सकिने ढकालले बताए ।
अब वाग्लेले अनलाइन माध्यमबाट रास्वपाको सदस्यता लिने र तनहुँबाट उपनिर्वाचनमा उम्मेदवार बन्ने ढकालले जानकारी दिए ।
तनहुँ(१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुँदैछ । २०८० वैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी परित्यागको घोषणा गरेका वाग्लेले नेतृत्वको कारण अलग्गिनुपरेको र भविष्यमा सक्रिय राजनीतिमा आउने जनाउ दिएका छन् । जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ, उनले पार्टीबाट अलग्गिएको जानकारी दिन लेखेको फेसबुक स्टाटसमा उल्लेख छ, अब कांग्रेस(कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर यो देश बन्छु भन्ने आशा जगाउने हो, बनाउने नै हो ।