निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न सामान्यको परिपत्र - Chaitanya News
  • 2026-05-21
  • 08:23:03
  • बिहिबार,जेठ ०७, २०८३
  • निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न सामान्यको परिपत्र

    निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न सामान्यको परिपत्र

    काठमाडौं- सरकारले निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न आह्वान गरेको छ। सामान्यले निजामती कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय र आयोगदेखि स्थानीय तहसम्मलाई परिपत्र गरी तोकिएको ढाँचामा नाम सिफारिस गर्न परिपत्र गरेको हो।

    मन्त्रालयले मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा निजामती सेवा पुरस्कार समितिको गत चैत्र १४ गते बसेको बैठकको निर्णय अनुसार निजामती सेवा पुरस्कारका लागि सिफारिस गर्दा अपनाउनु पर्ने कार्यविधि र निजामती सेवा पुरस्कारका आधारहरुमा टेकेर नाम सिफारिस गर्न सम्पूर्ण सरकारी निकायहरुलाई परिपत्र गरिएको छ।

    सरकारले प्रत्येक वर्ष २२ भदौलाई निजामती सेवा दिवसका रुपमा मनाउँदै आएकोमा सोही अवसरमा प्रदान हुने निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले आह्वान गरेको हो ।

    कार्यविधि अनुसार, १०० जनासम्म कर्मचारी भएको कार्यालयले १ जना, १०१ देखि ७०० सम्म कर्मचारी भएको कार्यालयले २ जना, ७०१ देखि १५०० जनासम्म कर्मचारी भएका मन्त्रालय वा सरकारी निकायले ४ जना, १५०१ देखि २४०० सम्म कर्मचारी भएका निकायबाट ६ जना, २४०१ देखि ३४०० सम्म निजामती कर्मचारी कार्यरत कार्यालयले ८ जना र सोभन्दा बढी निजामती कर्मचारी कार्यरत भएका निकायले १० जना सिफारिस गर्न पाउने कार्यविधिमा उल्लेख गरिएको छ।

    सरकारले निजामती कर्मचारी सेवा नियमावली, २०५० को नियम ११६ (क) को उपनियम (२) बमोजिमको समितिको सिफारिसमा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ।