संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो: मन्त्री मोदी - Chaitanya News
  • 2026-07-03
  • 10:44:06
  • शुक्रबार,आषाढ १९, २०८३
  • संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो: मन्त्री मोदी

    संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो: मन्त्री मोदी

    काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन्।

    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले उक्त ऐनको प्रक्रिया अघि बढेको बताए।

    ‘धेरै वर्षदेखि सङ्घीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै सङ्घीय निजामती ऐन ल्याउँछु भनेको थिए, अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको छ’, उनले भने।

    मन्त्री मोदीले संसद्को जारी अधिवेशनमा नै ऐन टेबुल हुनेसमेत बताए। ‘सङ्घीय निजामती ऐन अगाडि बढिसक्यो, संसद्को यही अधिवेशनमा ऐन टेबुल गर्ने मेरो तयारी छ,’ उनले भने।

    मन्त्री मोदीले ऐनमा सबैका भावना र सुझावलाई समेट्ने उद्देश्यले सरोकारवाला पक्षसँग छलफल गरेकोसमेत बताए।

    उनले सुशासन कायम गर्ने विषय नै आफ्नो मुख्य प्राथमिकताको विषय भएकोसमेत उल्लेख गरेका थिए।

    निमित्तमार्फत स्थानीय तहको कामकाज गर्ने प्रवृत्तिलाई अन्त्य गरेर आफूले सुशासनको सुरुआत गरेको उनको भनाइ थियो।

    मन्त्री मोदीले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह दिनसमेत कर्मचारीलाई निर्देशन दिएका थिए।