मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति, प्रधानमन्त्रीले भेट्ने  - Chaitanya News
  • 2026-05-21
  • 07:32:19
  • बिहिबार,जेठ ०७, २०८३
  • मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति, प्रधानमन्त्रीले भेट्ने 

    मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति, प्रधानमन्त्रीले भेट्ने 

    काठमाडौं-  काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका हुन् ।

    समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।

    चार सदस्यीय यो टोलीले मिटर ब्याज पीडितसँग भेट्ने र प्रधानमन्त्री प्रचण्डसँग भेट्ने वातावरण बनाउने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको उनले बताए ।

    फास्ट ट्र्याकबाट कानुन बनाउने तयारी

    प्रधानमन्त्री प्रचण्डले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन पनि निर्देशन दिएका छन् ।

    मंगलबार (आज) बस्ने मन्त्रिपरिषद बैठकबाट मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी कानुनको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्विकृति प्रदान गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    यो काम फास्ट ट्र्याकबाट गरिने प्रधानमन्त्रीको सचिवालयका सदस्य शर्माले बताए ।