काठमाडौं- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान काँग्रेस नेताहरु हिँड्नुपर्ने बताएका छन्।
सोमवार काठमाडौंमा पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरु हिँड्न आवश्यक रहेको बताएका हुन।
उनले२०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरुले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरुले देखाएको बाटोमा काँग्रेस नेताहरु कत्तिको हिँडेका छौँ भन्ने कुराको मनन गर्न आवश्यक रहेको बताए।
उनले शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्नेकुरामा सोच्न जरुरी रहेको धारणा राखे।नेता सिंहले स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्वहाली गराउन गर्नुभएको देन समाजले सम्झिरहने बताए।