अमेरिकी र नेपाली सेनाबीच आजदेखि सैन्य छलफल - Chaitanya News
  • 2026-05-21
  • 06:36:18
  • बिहिबार,जेठ ०७, २०८३
  • अमेरिकी र नेपाली सेनाबीच आजदेखि सैन्य छलफल

    अमेरिकी र नेपाली सेनाबीच आजदेखि सैन्य छलफल

    काठमाडौँ-  नेपाली सेना र अमेरिकी सेनाबीच आज (सोमबार) बाट द्विपक्षीय छलफल शुरु हुने भएको छ । काठमाडौंको तीन दिनसम्म चल्ने द्वीपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको टोली आइतबार काठमाडौं आइपुगिसकेको छ ।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ । गत वर्ष भने अमेरिकाको हवाईमा बैठक आयोजना भएको थियो ।

    यस पटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ । अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ ।

    छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुनेछन् ।

    अमेरिकी सेनाको प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्ने तय भएको छ ।