सुदूरपश्चिम खप्तड गोल्डकप सुरु, मुख्यमन्त्री शाहले गरे उद्‌घाटन - Chaitanya News
  • 2026-06-05
  • 16:30:16
  • शुक्रबार,जेठ २२, २०८३
  • सुदूरपश्चिम खप्तड गोल्डकप सुरु, मुख्यमन्त्री शाहले गरे उद्‌घाटन

    सुदूरपश्चिम खप्तड गोल्डकप सुरु, मुख्यमन्त्री शाहले गरे उद्‌घाटन

    धनगढी– ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको छैटौं संस्करण सुरु भएको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा बिहीबारदेखि धनगढीमा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्‌घाटन गरे।

    उनले खेल र खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना हुन आवश्यक रहेको बताए। मुख्यमन्त्री शाहले प्रदेशलाई विश्वभरी पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले खेलकुदले मानिसलाई अनुशासित, स्वस्थ राख्न मद्दत गर्ने बताए।

    खेलकुद प्रतियोगिताको उद्‌घाटनसँगै आयोजक क्लबले मुख्यमन्त्री शाहलाई दुई बुँदे ज्ञापनपत्र हस्तान्तरण समेत गरेको छ। प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्नुपर्ने र क्षेत्रीय रंगशाला धनगढीमा रात्रीकालिन खेल प्रतियोगिता सञ्चालन गर्न आधुनिक लाइट जडान गर्नुपर्ने क्लबको माग छ।

    आयोजक टिमले खेलकुदको विकासले उन्नत समाज र देशको विकास गर्न सकिने जनाएको छ। प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल एपीएफ क्लब र बागमती प्रदेशबिच प्रतिस्पर्धा भइरहेको छ।

    प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोफसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

    प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

    विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगिता २०७३ सालदेखि आयोजना हुँदै आएको छ।