धनगढी- यही चैत्र १० गते धनगढीमा हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको तयारी पूरा भएको छ। आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नारी साहित्य सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो।
साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने जानकारी दिए। उनले सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमार लगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जानकारी दिए।
उनका अनुसार सम्मेलनमा समारोहमा साहित्यिक प्रतिभा झमक घिमिरेलाई एक लाख ११ हजार रुपैयाँ राशिको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने छ।
सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मूर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा अमेरिका पनि सहभागी हुनेछन्।
सम्मेलन आयोजनाका लागि मूल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमितिहरू गठन भएका छन्। सम्मेलनमा सञ्चालन गरिने अन्तरसंवाद सत्रहरूको टुङ्गो लागिएको छ।
यस्तै कार्यक्रम मूल आयोजक समितिका संयोजक वरिष्ठ लोक गायक यज्ञराज उपाध्यायले धनगढीलाई बौद्धिक बहसको नगरिका रूपमा स्थापित गर्न यो कार्यक्रमको आयोजना गरिने बताए। यसले यहाँको भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वव्यापी गर्न सहयोग पुर्याउने विश्वास लिइएको उनले बताए।
यस्तै साहित्यकार रामलाल जोशीले सम्मेलनमा कला, संस्कृति, राजनीतिक परिवेसलगायत थुप्रै विषयमा प्यानल डिस्कसन हुने बताए। उनले साहित्य सम्मेलन सुदूरपश्चिमका लागि एक ब्राण्ड बनिरहेको बताए।
सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ।