काठमाडौं- चिकित्सा शिक्षा आयोगले एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ।
आयोगले फागुन २४ गते लिएको एकीकृत प्रवेश (एमईसीईई-बीएल २०२३) अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रममा आयोगले छुट्याएको सिट संख्या भन्दा चार हजार ७७४ जना बढी विद्यार्थी उत्तीर्ण भएका हुन्।
आयोगको नतिजा अनुसार एमबीबीएस एकीकृत प्रवेश परीक्षामा ६ हजार ६६९ जना एमबिबिएसको प्रवेश परीक्षामा उत्तीर्ण भएका छन्।
उत्तीर्ण भएका उनीहरू एमबीबीएस अध्ययन गर्न योग्य मानिन्छ। तर, आयोगले विभिन्न शिक्षण संस्थाको लागि एक हजार ८९५ सिट छुट्याएको छ । त्यसैले उत्तीर्ण भए पनि बाँकी चार हजार ७७४ जना विद्यार्थीले पढ्न पाउने सम्भावना कमै छ।
आयोगको अनुसार परीक्षामा मर्यादा विपरीत कार्य गर्ने दुई जनाको परीक्षा रद्द गरिएको छ। त्यस्तैगरी उत्तरपुस्तिकामा रोल नम्बरमा बबल बिगारेका २१३ विद्यार्थी र उत्तरपुस्तिकामा क्वेसन सेट र रोल नम्बर दुवैमा बबल बिगारेका २३ परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ।
प्रकाशित नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि चैत ८ गते बिहान १० बजेदेखि चैत १० गते अपराह्न ५ बजेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिनसक्ने आयोगले जनाएको छ।