कञ्चनपुर– अन्न भण्डारका रूपमा चिनिने कञ्चनपुरमा पछिल्लो समय खेतीयोग्य जमिन घट्दै गएको छ।
उत्पादनका हिसाबले महेन्द्रनगर, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास र दोधारा–चाँदनी उर्वर भूमिका रूपमा रहेको छ तर पछिल्ला केही वर्षयता उर्वर भूमिमा धमाधम घर बनिरहेका छन्।
बजार क्षेत्रको खेतीयोग्य जमिनमा धमाधम घर बन्ने क्रम बढिरहेको छ भने अन्य केही क्षेत्रमा नदीको कटानले गर्दा बर्सेनि जमिन मासिँदै गएको छ।
कृषि ज्ञान केन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा कूल खेतीयोग्य जमिन १ लाख ६१ हजार ७४१ हेक्टर छ। जसमध्ये ५६ हजार ६०२ हेक्टर अर्थात् ३५ प्रतिशत जमिनमा खेती हुने गरेको कृषि ज्ञान केन्द्र महेन्द्रनगरका कृषि अधिकृत हरिदत्त जोशीले जानकारी दिए।
कञ्चनपुरमा बर्सेनि ५–१० प्रतिशतले खेतीयोग्य जमिन घट्दै गएको उनले बताए । ‘हरेक वर्ष ५.१० प्रतिशत खेतीयोग्य जमिन घट्दै गएको छ, यो बसाइँसराइका कारणले हो,’ उनले भने, ‘धेरै ठाउँमा घर बनेका कारण खेतीयोग्य जमिन घटेको छ, केही ठाउँमा नदी कटानले पनि घटेको छ।’
जिल्लामा सबैभन्दा बढी बेलौरी नगरपालिकामा १० हजार १९६ हेक्टरमा खेती हुने गरेको जोशीले बताए। पुर्नवास नगरपालिकामा ७ हजार ८५८ हेक्टर, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकामा ६ हजार ५०० हेक्टर र भीमदत्त नगरपालिकामा ७ हजार ७८८ हेक्टरमा खेती भइरहेको छ।
शुक्लाफाँटा नगरपालिकामा ६ हजार ३००, दोधाराचाँदनी नगरपालिकामा ३ हजार ६००, बेल्डाँडी गाउँपालिकामा ३ हजार ३०० र लालझाडी गाउँपालिकामा ४ हजार ५६० हेक्टरमा खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
अन्न भण्डारमै हरेक वर्ष खेतीयोग्य जमिन घट्नु राम्रो होइन,’ जोशीले भने, ‘सरकारले स्पष्ट नीति ल्याउन नसक्दा यो समस्या देखिएको हो।
विक्रम संवत् २०६४ सालमा बैतडीबाट महेन्द्रनगर बसाइँ सरेका विष्णु पन्तले पछिल्लो १० वर्षयता खेतीयोग्य जमिनमा तीव्ररूपमा बसोबास भएको बताए। ‘पहिला बस्ती टाढा–टाढा थियो, महेन्द्रनगर बजार क्षेत्रमै घना बस्ती थिएन,’ उनले भने, ‘१ दशकयता अत्यधिक शहरीकरण भयो, खेतीयोग्य जमिन कम हुँदै गयो।