काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा पपुवान्युगिनी (पीएनजी) विरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित अंकतालिकाको शीर्ष तीनमा रहने सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछ ।
घरेलु मैदानमा जारी शृंखलामा नेपालले यसअघिका दुवै खेलमा जित निकालेको छ । नेपालले शृंखलाको पहिलो खेलमा पीएनजीलाई ५२ रनले र दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १७७ रनले पराजित गरेको थियो । नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ को पछिल्लो ६ खेलयता अपराजित छ । र, पीएनजीविरुद्ध मैदान उत्रिँदा नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई शृंखलाका दुवै खेलमा जितको आवश्यकता छ । यसअघि नेपालले आइतबार यूएईलाई पराजित गरेसँगै एकदिवसीय मान्यता भने आगामी चार वर्षका लागि सुनिश्चित गरेको थियो ।
लिग–२ चौथो स्थानमा रहेको नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ । समान खेलबाट ११ अंक जोडेको पीएनजीको भने एकदिवसीय मान्यतासमेत गुमिसकेको छ । यस्तै, ३४ खेलबाट ३१ अंक जोडेको यूएई भने तालिकाको छैटौं स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले नामिबियामा २४ मार्चदेखि ४ अप्रिलसम्म हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।
प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई टिम र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।
नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।
जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई टिम, क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिम र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सुपर लिगको शीर्ष सात टिमले सिधै आईसीसी एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रुपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ ।