काठमाडौं – आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् ।
बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
अहिले उनको वीर अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनी बोल्न सक्ने अवस्थामै छिन् । तर विष पिउनुको कारणबारे बताउन अस्वीकार गरेकी छन् ।
वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन् । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा तानिएकी थिइन् । यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन् ।