प्रधानमन्त्री प्रचण्ड मुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख पाइरहन्छन : ज्वाला सिंह - Chaitanya News
  • 2026-05-19
  • 22:33:56
  • मंगलबार,जेठ ०५, २०८३
  • प्रधानमन्त्री प्रचण्ड मुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख पाइरहन्छन : ज्वाला सिंह

    प्रधानमन्त्री प्रचण्ड मुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख पाइरहन्छन : ज्वाला सिंह

    काठमाडौँ– नेकपा एमालेकी नेतृ एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख र सास्ती पाइरहने बताएकी छन्।

    उनले प्रचण्डलाई महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषले भनेजस्तै कुलंघारको संज्ञासमेत दिइन्।

    मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ साहले भनिन्, ‘महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषीले भनेका थिए यो कुलंघार हो। यो रहुञ्जेलसम्म यसले परिवार पनि नाश गर्छ। देशलाई पनि नाश बनाउँछ। मलाई त त्यस्तो लागिरहेको छ कि जबसम्म प्रचण्ड नेतृत्वमा रहनुहुन्छ तबसम्म जनताका सपना, घाइते, योद्धा सबैको सपनामा चोट पुग्छ।’

    उनले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाजको संज्ञा पनि दिइन्। उनले भनिन्, ‘प्रचण्ड उहाँको आफ्नो व्यवहारले धोकेबाज देखिनुभएको छ। अब प्रचण्डसँग हाम्रो सहकार्य हुँदैन। हामी हिजो पनि एक्लै चुनाव लडेको हो। देशलाई अघि बढाउन एमाले एक्लै सक्षम छ।’

    हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएकी साहले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर ठूलो गल्ती गरेको पनि स्पष्ट पारिन्।

    उनले भनिन्,‘अब त उहाँको बुद्धि पलाउला भनेको त, प्रचण्डमा त्यस्तो देखिएन। सहिदका सपना पूरा होलान भनेको त उहाँ व्यक्तिगत स्वार्थ र काममा लाग्नुभयो।’

    उनले एमालेको सचिवालय बैठकबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय भएपछि आफूहरू हिजै सरकारबाट बाहिरिएको पनि स्पष्ट पारिन्।