काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेल नेपालले ४ विकेटले जितेको छ।
लिग टुमा नेपालको यो लगातार पाँचौं जित हो। यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो।
जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ। छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ। नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग नै खेल्नेछ।
पपुवा न्युगिनीसँगके खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा गर्यो। कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए।
नेपालले लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गरेका थिए। पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७६ रनको साझेदारी गरे। आसिफ शेखले रनआउट हुनुअघि ३९ बल खेल्दै ५ चौका मद्दतमा ४४ रन बनाए।
त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ३ रनमै बोल्ड भए। कप्तान रोहित पौडेल २० रन बनाएर आउट हुँदा नेपाल १३५-४ को स्थितिमा थियो। त्यसपछि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय साझेदारी गर्दै नेपालको जितको आधार तयार गरे।
आरिफ र दीपेन्द्रले पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे। दीपेन्द्रले ४३ बल खेल्दै १ छक्का मद्दतमा २२ रन जोडेर ३९औं ओभरमा आउट भए।
लगत्तै अर्को ओभरमा आरिफ पनि आउट भए आरिफले ६२ बल खेल्दै १ चौका मद्दतमा ३३ रन बनाए। छक्का प्रहार गर्दै नेपालको जित पक्का गरेका कुशल मल्लले अविजित १२ जोडे।
सोमपाल कामी ५ रनमा अविजित रहे। पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुअ र सेसे बाउले १-१ विकेट लिए।