काठमाडौँ — कांग्रेसले माओवादीसँगको समझदारीमै राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने’ अडान राखिरहेका कारण कांग्रेसले मुलुकको सर्वोच्च पद आफ्नो पोल्टामा पर्ने आशा राखेको छ ।
सरकारलाई विश्वासको मत दिएर दाहाललाई फकाउन सुरु गरेका कांग्रेस नेताहरू पछिल्लो समय राष्ट्रपति पद पाउनेमा थप विश्वस्त हुँदै गएको देखिन्छ ।
राष्ट्रपति निर्वाचनका लागि माओवादीको निर्णायक मत छ । राष्ट्रिय सहमतिको कुरा गरिरहे पनि माओवादीले एमालेसँगको सत्ता गठबन्धन छाड्ने, नछाड्ने प्रस्ट भइसकेको छैन । एमाले र कांग्रेस दुवैका उम्मेदवारलाई समर्थन नगरेर उसले बीचको बाटो लिने आशंका पनि कांग्रेस नेताहरूले गरिरहेका छन् ।
बीचको विकल्पका रूपमा कांग्रेस र एमालेबाहेकका दल वा गैरदलीय क्षेत्रबाट राष्ट्रपति बनाउने हुन सक्छ । यस्तो विकल्पमा जान नहुने मत पार्टीभित्र बलियो रहेकाले एमालेसँगको गठबन्धन छाडेर माओवादी पुरानै गठबन्धनमा आउने विकल्प बलियो रहेको कांग्रेस नेताहरू बताउँछन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूसँग अनौपचारिक कुराकानीमा नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका लागि अघि सार्ने बताउने गरेका छन् । कांग्रेसमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा चाहना राखेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित सिटौलाले प्रधानमन्त्री दाहालसँगको पूर्वसम्बन्धका आधारमा माहोल बनाउन खोजिरहेका हुन् । तर, देउवाको रोजाइ पौडेल नै रहेको कांग्रेसका एक नेताले बताए ।माओवादीको प्रस्ट धारणा बनिनसकेका कारण उम्मेदवार चयनमा प्रधानमन्त्री दाहालकै निर्णय पर्खिरहेको कांग्रेसका एक पदाधिकारीले बताए ।
यता एमालेले पुस १० मा दाहाललाई प्रधानमन्त्री बनाउने बेला भएको भद्र सहमतिअनुसार राष्ट्रपति पद आफूहरूले पाउनुपर्नेमा जोड दिइरहेको छ । तर, ओलीले राष्ट्रपतिमा कसलाई अघि सार्न खोजेका छन् भन्ने कुनै संकेत गरेका छैनन् ।