काठमाडौं – गृह मन्त्रालयले हिजो सोमवार काठमाण्डौको गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ। यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शनका क्रममा हिजो ल्होत्से मलमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुट्नेलाई पक्राउ गरी कारबाही गर्न गृह सचिव विनोद सिंहले सुरक्षा निकायलाई निर्देशन दिएको हो।
नेपाल मोबाइल व्यवसायी महासङ्घले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ। आज मङ्गलवार महासङ्घले नयाँ बसपार्कमा पत्रकार सम्मेलन गर्दै सोमवार गोङ्गबु नयाँ बसपार्कको ल्होत्से मलमा यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने सङ्गठन र सरकारले दिनुपर्ने माग गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापीरूपमा आन्दोलन गर्ने चेतावनी दिए। उनले १५ घण्टा हुँदासम्म सरकार घटनाप्रति मौन बस्नु व्यवसायीहरूको पक्षमा सरकार नदेखिएको आरोप लगाए। उनले सरकारले पसल लुटपाट पर्नेहरूको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरे।
अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए। उनले सोमवारको घटनाबाट देशको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै घटनाको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने बताए। उनले व्यवसायीहरूले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको बताए।
त्यस्तै महासङ्घका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले झन्डै ८ देखि ९ करोड रुपैयाँ बराबरको मोबाइल, पैसा र अन्य सामग्रीहरू लुटिएको बताए। उनले सरकारले घटनाबाट भएको क्षतिपूर्ति दिने विश्वास रहेको बताए।सामान्य व्यवसायीहरूले गरिखानसमेत ठूलो समस्या आएको भन्दै सरकारले व्यवसायलाई सुरक्षित बनाउन नसकेको उनको गुनासो छ। उनले केही चोरहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको बताए।
त्यस्तै महासङ्घका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसाय गरेर जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको बताए। उनले यातायात मजदुरहरूको आन्दोलनको नाममा पसलहरू लुटपाट गर्ने काम भएको भन्दै घटनाको जिम्मा सरकार वा आन्दोलनकारी दुवैले लिनुपर्ने बताए।
सोमवार ल्होत्से मलमा सञ्चालित पसलहरूका सिसा र शटर फोरेर मोबाइल लुटिएको महासङ्घले जनाएको छ। पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन्। पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ। महासङ्घले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने भएको छ।
हिजोको अवस्थापछि आज बिहान सरकार र यातायात मजदुरका सङ्गठनबीच वार्ता भएको थियो। वार्ता सकारात्मक भएपछि बन्द फिर्ता लिए पनि आज काठमाण्डौमा सार्वजनिक गाडी चलेका छैनन्। निजी गाडी र ट्याक्सी भने चलेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरूले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेपछि बन्दको कार्यक्रम स्थगित गरेका थिए । ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आन्दोलन गरेका थिए। बालाजु बसपार्क क्षेत्र हिजो दिनभर नै तनावग्रस्त बनेको थियो।