अदालतबाट पुर्जी बुझेर जेल चलान भए सांसद चौधरी - Chaitanya News
  • 2026-05-01
  • 12:09:04
  • शुक्रबार,बैशाख १८, २०८३
  • अदालतबाट पुर्जी बुझेर जेल चलान भए सांसद चौधरी

    अदालतबाट पुर्जी बुझेर जेल चलान भए सांसद चौधरी

    काठमाडौं – १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् ।

    बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् ।

    मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ ।

    तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए ।

    २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    यता नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ । सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनु पर्ने भए पनि त्यो समेत नलिई उनलाई पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।

    तर प्रहरीले भने फौजदारी अभियोगका अभियुक्तलाई पक्रन सभामुखको अनुमति लिन नपर्ने व्यवस्था भएकाले आफूहरुले कानुन अनुसार नै उनलाई पक्रेर फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको बताएको छ ।