काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री नीति बनाउन सक्रिय भूमिका खेल्ने बताएका छन्। बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरूको सेवा–सुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने उनले बताए। नेपाल नर्सिङ संघको ६१औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘नर्सहरुका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ,’मन्त्री गिरीले भने,‘नर्सहरूले एउटा लेभल पास गर्नुहुन्छ। मैले सुने ८/१० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ। यो निकै चिन्ताको विषय हो। यसरी न्यूनतम तलब भत्ता पनि नदिइ श्रम शोषण गर्ने कुरा कुनै पनि हालतमा ठिक हुँदैन। त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रोगरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ। यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नविकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ,’उनले भने।
संवेदनशिल पेशा भएकाले नर्सहरूमा धैर्यता जरुरी रहने उनले बताए। ‘तपाईंहरू यो पेशामा आउँदाखेरी नै यो पेशाका चुनौती के–के हुन् भन्ने थाहा पाएरै आउनुभएको छ। त्यसैले जस्तोसुकै बेलामा पनि धैर्याता चाहिन्छ। तपाईंहरुको सानो लापरबाहीले एकजनाको ज्यान जानसक्छ। उसका बालबच्चा टुहुरा हुनसक्छन् र आफन्तले परिवारको सदस्य गुमाउँछन्। त्यसैले नर्सहरुको काँधमा ठूलो अभिभा।,’उनले भने।
दक्ष नर्सहरू राम्रो सेवा–सुविधा पाएर विदेशमा रोजगारी गर्नु सकारात्मक पाटो रहेको उनले बताए। ‘हामी संसारको जुनसुकै कुनामा गएर भएपनि जागिर गर्दा हुन्छ। तर हामी दक्ष हुनुपर्यो। हामीले पाउने सेवा सुविधा त्यही मापदण्डको हुनुपर्यो। आज विदेशीहरू नेपालमा आएर जागिर खाइरहेका छन्। हामी पनि जान हुन्छ,’उनले भने,‘तर श्रमको न्यून मूल्य लिएर जाने कुरा उचित हुँदैन।’