काठमाडौँ– लोकसेवा आयोगले एक अर्काबाट उत्तर साटासाट गर्ने २ जना परीक्षार्थीलाई कारवाही गरेको छ। खरिदार वा सो सरह पदको ३० पुस २०७९ मा लोक सेवाले लिएको परीक्षामा सहभागी भई उत्तर पुस्तिका एक आपसमा साटेर उत्तर सारेर लेखेको भन्दै आयोगले कारवाही गरेको हो।
जयप्रकाश यादव र राजनारायण रायको उक्त विज्ञापनसँग सम्बन्धित उत्तरपुस्तिकाहरू रद्द गरिएको आयोगले जनाएको छ। साथै उनीहरूमध्ये यादवलाई २ वर्ष र रायलाई १ वर्ष परीक्षा दिन नपाउने गरी कारवाही गरेको छ।
आयोगले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४०(१) (क) बमोजिम कसुर गरेको प्रमाणित भएकाले सोही आधारमा कारवाही गरेको आयोजनाले जनाएको छ।