काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
पुस १० गते बनेको सत्ता गठबन्धनको सहमतिअनुसार राष्ट्रपति पद एमालेले लिने भएको छ। तर पुस २६ गते नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री अलमलमा छन्।
सात दलबीच राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भए पनि कांग्रेसको पनि विश्वासको मत पाएपछि प्रधानमन्त्रीले यसबारे सहमति गरेर अघि बढ्न सकिने बताएका छन्।
कांग्रेसले यसअघि नै राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ। उसले वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विकमध्ये एकलाई उठाउने सम्भावना छ।
तर एमालेले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवारबारे कुनै निर्णय गर्न सकेको छैन। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितको नाम चर्चामा छ।