चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 429 of 1152
  • 2026-11-21
  • 12:14:36
  • शनिबार,मंसिर ०६, २०८३

About Author

निर्वाचन आचारसंहिताको पालनामा कडाइ गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ– प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको उल्लंघन बढ्दै गएको निष्कर्षसहित सरोकारवाला सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ। आयोगले हालै गरेको अनुगमन तथा सरोकारवालासँगको छलफलका क्रममा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूबाट सार्वजनिक रूपमा मर्यादाविपरीत शब्द प्रयोग हुने र एक–अर्काविरुद्ध घृणाजन्य अभिव्यक्ति व्यक्त हुने गरेको पाइएको जनाएको छ। यस प्रकारका गतिविधिले निर्वाचन प्रक्रियालाई मानव अधिकारमैत्री बनाउने प्रयासमा बाधा पुर्‍याउने आयोगको ठहर छ। आयोगका अनुसार पछिल्लो समय डिजिटल माध्यमको दुरुपयोग गर्दै व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने सामग्री उत्पादन र प्रचार गर्ने प्रवृत्ति बढ्दो छ। साथै, मतदातालाई कसलाई मतदान गर्ने भन्ने विषयमा प्रश्न गरी त्यसको अडियो वा भिडियो अभिलेख सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यले गोप्य मतदान र गोपनीयताको अधिकारमा गम्भीर असर पुगेको उल्लेख गरिएको छ। कतिपय सञ्चारमाध्यमबाट निर्वाचनअघि नै विजयी हुने उम्मेदवारबारे अनुमानसहित समाचार प्रकाशन हुँदा मतदातामा भ्रम सिर्जना भएको र मतदाता शिक्षा अपेक्षित रूपमा प्रभावकारी नभएको विषयप्रति पनि आयोगले ध्यानाकर्षण गराएको छ। यसैगरी, विभिन्न राजनीतिक दलका कार्यालयमा भएका तोडफोड र अवाञ्छित गतिविधिप्रति आयोगले चासो व्यक्त गरेको छ। आयोगका प्रवक्ता डाटीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा राजनीतिक प्रतिस्पर्धाका क्रममा घृणायुक्त आरोप(प्रत्यारोप नगर्न, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न र हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ। निर्वाचनलाई मर्यादित, निष्पक्ष र मानव अधिकार अनुकूल बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा सम्बन्धित सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने आयोगले पुनः स्मरण गराएको छ।

News by निर्वाचन आचारसंहिताको पालनामा कडाइ गर्न मानव अधिकार आयोगको आग्रह :