काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन्।
आज (बिहीबार) नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै, उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताए।
प्राकृतिक विपद्, महामारी तथा अन्य आपत्कालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको गृहमन्त्री अर्यालको भनाइ छ
हाल दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभूत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको उनले बताए।
नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको भन्दै उहाँले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उल्लेख उनले गरेका छन्।