काठमाडौँ– नेपाली काँग्रेसको पहिलो चुनावी सभा जनकपुरमा हुने भएको छ । काँग्रेसले फागुन ७ गतेबाट चुनावी सभा थाल्ने भएको छ। फागुन २१ को निर्वाचनलाई लक्षित गरेर जनकपुरमा सभा गर्न लागिएको हो।
सभापति गगन थापा यसपटक सर्लाही(४ बाट चुनाव लड्दै छन्। पहिलो ठूलो सभा मधेशमै गर्ने काँग्रेसको रणनीति बनाएको छ। सभालाई सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमहामन्त्री डिला सङ्ग्रौलाले बताइन्।
उनले भनिन्, ‘प्रमुख वक्ता सभापति र उपसभापति रहनुहुनेछ, त्यसपछि प्रदेश र जिल्ला अनुसार आवश्यकता अनुसारको पार्टीको नेताहरू चुनावी अभियानमा जाने तय भएको छ।’
उनले समयले भ्याएसम्म सभापति थापा र उपसभापति शर्मा चुनावी अभियानका लागि देश दौडाहामा निस्कने तयारीमा रहेको पनि बताइन्।
थापालाई काँग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ भने शर्मा निर्वाचन परिचालन समितिको संयोजक हुन्। चुनावी सभालाई सम्बोधन गर्नको लागि सभापति थापा र शर्मा देश दौडाहामा लाग्ने तयारीमा छन्।