चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-24
  • 16:34:37
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

सरकारसँग सहकार्य र खबरदारी गर्छौं, रास्वपाको विवादमा पस्दैनौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका कामकारबाहीअनुसार सहयोग, खबरदारी र प्रतिरोध गर्ने तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवादमा कांग्रेस नजोडिने बताएका छन्। मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने स्पष्ट पारे। उनले रास्वपाभित्र देखिएका कुनै पनि समस्यामा कांग्रेसको चासो नरहेको उल्लेख गर्दै पार्टीको महाधिवेशनसम्बन्धी दस्तावेजमै यसबारे स्पष्ट धारणा राखिएको बताए। ‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौँ, हामीलाई रुचि पनि छैन, हामी कुनै कचकच पनि गर्दैनौँ, हामी कुनै उपद्रोमा सहभागी पनि हुँदैनौँ,’ उनले भने। थापाले सरकार सञ्चालनका लागि सरकारको जस्तै प्रतिपक्षी दलको पनि निश्चित जिम्मेवारी हुने बताए। कांग्रेसले सरकारसँग आवश्यकताअनुसार सहकार्य गर्ने र गलत काममा प्रश्न उठाउँदै खबरदारी गर्ने उनको भनाइ छ। ‘जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ त्यहाँ हातेमालो गर्छौँ, जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो त्यहाँ खबरदारी गर्छौँ, जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो त्यहाँ प्रश्न सोध्छौँ,’ उनले भने। सरकारका कामकारबाहीका आधारमा आवश्यक परे प्रतिरोधसमेत गर्ने उनले बताए। त्यस्तै, प्रतिपक्षमा रहेका अन्य दलसँग गठबन्धन गर्ने पक्षमा कांग्रेस नरहेको स्पष्ट पार्दै आवश्यक विषयमा भने संवाद र सहकार्य गर्न सकिने उनको भनाइ छ। थापाले कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेकाले आफ्नो जिम्मेवारीअनुसार सरकारका गतिविधिमाथि निगरानी र आवश्यक सहकार्यलाई अघि बढाउने बताए।

News by सरकारसँग सहकार्य र खबरदारी गर्छौं, रास्वपाको विवादमा पस्दैनौं : गगन थापा :