चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 398 of 1153
  • 2026-11-22
  • 22:23:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गण्डकीमा प्रतिनिधि सभा निर्वाचन तयारी अन्तिम चरणमा, २१ हजार कर्मचारी फिल्डमा

पोखरा– यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा तयारी अन्तिम चरणमा पुगेको छ। शनिबार प्रदेश निर्वाचन कार्यालय, पोखराले सञ्चारकर्मीसँग अन्तरक्रियामा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो। गण्डकी प्रदेशमा झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन हुने भएका छन्। तीमध्ये १४ हजार ३५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक हुन्। १८ फागुनभित्र सबै मतदान अधिकृत तथा सहायक अधिकृतसहितको टोली मतदानस्थलमा पुग्ने तयारी छ। प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार मतपत्रसहितका सबै निर्वाचन सामग्री प्राप्त भई मतदान केन्द्रअनुसार छुट्याएर वितरणको तयारी अवस्थामा राखिएको छ। प्रदेशका ११ वटै जिल्लामा वडास्तरमा मतदाता शिक्षा कार्यक्रम जारी छ। गत ३ फागुनदेखि सुरु मतदाता शिक्षा कार्यक्रम आइतबार सकिँदैछ। यद्यपि, चुनावका लागि मौसम चुनौती बन्ने अनुमान एकातिर छ । प्रदेशका हिमाली क्षेत्रमा हिमपातका कारण मतदान केन्द्र सार्नुपर्ने आकलन गरिएकोमा बिस्तारै मौसममा सुधार आएसँगै बाटो खुलाएर तोकिएकै स्थानमा मतदान गर्ने सहमति भएको ढकालले बताए। उनका अनुसार मतदान अधिकृत र सहायक अधिकृतको तालिम भने सम्पन्न भइसकेको छ। हिमालपारिको जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको करिब ४४ सय मिटर उचाइको शाङ्ता गाउँ र मनाङको नारफू गाउँपालिकाको नार र फू गाउँ (करिब ४२ सय मिटर उचाइ) मा हिमपात भएको छ। गोरखा, म्याग्दी, मुस्ताङ र मनाङका ३ हजार मिटरभन्दा माथिका मतदान केन्द्रमा खटिने कर्मचारीका निम्ति आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ। विगतमा हिमाली क्षेत्रबाट जाडो छल्न बाहिरिएका मतदाता पनि फर्कन क्रम जारी छ। कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निर्वाचनको चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग सहयोगको अपेक्षा गरे। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चुनावमा तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिइन्। मतदानस्थलमा न्यूनतम ८ देखि ३० जनासम्म नेपाल प्रहरी, त्यसको बाहिरी घेरामा सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी घेरामा नेपाली सेना परिचालन हुनेछ। गण्डकी प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता छन्। प्रदेशमा १ हजार २९७ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्र निर्धारण गरिएको छ। अस्थायी मतदाता २१ हजार ६९३ छन् भने १७ अस्थायी मतदान केन्द्र कायम छन्। प्रदेशका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। तीमध्ये २९ महिला र २०५ पुरुष छन्। सबैभन्दा बढी कास्कीमा १८ राजनीतिक दल र सबैभन्दा कम मनाङमा ३ दल प्रतिस्पर्धामा छन्।  

News by गण्डकीमा प्रतिनिधि सभा निर्वाचन तयारी अन्तिम चरणमा, २१ हजार कर्मचारी फिल्डमा :