गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल - Chaitanya News
  • 2026-04-26
  • 11:54:49
  • आइतबार,बैशाख १३, २०८३
  • गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

    गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

    काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने स्पष्ट पारेका छन्।

    आज (शुक्रबार) विराटनगरमा सुरक्षा निकायहरुसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्र्मीसँग कुरा गर्दै मन्त्री अर्यालले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने समेत बताए।

    अलमलमा पर्न जरुरी छैन। बाँकी काम मतदान अधिकृतले नै गर्ने हो। नेपाल प्रहरीको सहयोग लिएर गर्ने हो। त्यसको ढाँचा नै त्यसैमा उल्लेख गरेका छौं,’ गृहमन्त्री अर्यालले भने।

    उनका अनुसार मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन्।

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री अर्यालले निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतदान अधिकृतले मतपेटिका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्रै मतगणना स्थलसम्म पुर्‍याउने व्यवस्था मिलाइएको बताए।

    उनले मतपेटिका ढुवानी र सुरक्षाबारे कुनै भ्रम राख्न आवश्यक नरहेको र सबै काम स्थापित सुरक्षा मापदण्डअनुसार हुने जानकारी दिए।

    निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकायबीच समन्वयात्मक रूपमा काम भइरहेको मन्त्री अर्यालले बताए।

    त्यस्तै गृहमन्त्री अर्यालले कुनै पनि अवस्थामा निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने दाबी पनि गरे। वर्तमान सरकार गैरदलीय र निष्पक्ष ढंगले काम गरिरहेको उल्लेख गर्दै उहाले कानुनको पूर्ण पालना र कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारे।

    दण्डहीनताको अन्त्य गर्नु वर्तमान सरकारको प्रमुख लक्ष्य रहेकाले कानुन उल्लंघन गर्ने जो–कोहीमाथि कानुनी कारबाही हुने उनले बताए।