चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-10-08
  • 11:52:00
  • बिहिबार,आश्विन २२, २०८३

About Author

त्रिविको परीक्षा र नतिजा प्रणाली विकेन्द्रित गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ– शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको परीक्षा तथा नतिजा प्रकाशन प्रणालीलाई विकेन्द्रित गर्दै समयमै सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै उनले प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए। विद्यार्थीको ठूलो संख्याका कारण परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा ढिलाइ भइरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले अब तल्लो तहलाई आवश्यक अधिकार हस्तान्तरण गरेर विकेन्द्रीकरणको सिद्धान्त पूर्ण रूपमा लागू गर्नुपर्नेमा जोड दिए। उनले त्रिविमा समयमै परीक्षा नहुने र परीक्षा सम्पन्न भएपछि पनि नतिजाका लागि लामो समय कुर्नुपर्ने गुनासो अन्त्य गर्नुपर्ने बताए। विद्यार्थीको संख्या धेरै भएको कारण देखाएर नतिजा प्रकाशनमा हुने ढिलाइलाई निरन्तरता दिन नहुने उनको भनाइ थियो। मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक प्रणालीलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए। परीक्षा तोकिएको समयमा सञ्चालन गर्ने र नतिजासमेत निर्धारित समयमै सार्वजनिक गर्ने प्रणाली विकास गर्नुपर्ने उनले बताए। त्रिविको सुधार केवल परीक्षा र नतिजामा सीमित नराखी शैक्षिक गुणस्तर, अनुसन्धान र सुशासनसम्म विस्तार गर्नुपर्ने उनको भनाइ थियो। विश्वविद्यालयमा अनुसन्धानका लागि लगानी बढाउने, उद्योग तथा विश्वविद्यालयबीच सहकार्य विस्तार गर्ने र सेवा प्रवाहलाई पारदर्शी तथा प्रविधिमैत्री बनाउनुपर्ने उनले बताए। विश्वविद्यालयको समग्र सुधारको केन्द्रमा विद्यार्थीलाई राख्नुपर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउनेभन्दा ज्ञान, सीप, सृजनशीलता तथा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतासहित तयार पार्नुपर्ने बताए। उनले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र विश्वव्यापीकरणले ल्याएका चुनौतीलाई अवसरका रूपमा उपयोग गर्न त्रिविले आफ्नो शैक्षिक प्रणालीमा आवश्यक परिवर्तन गर्नुपर्ने बताए। डिजिटल प्रविधिको जिम्मेवार तथा नैतिक प्रयोगका लागि आवश्यक नीति निर्माणमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो। त्यसैगरी विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आकर्षित गर्न ठोस योजना ल्याउनुपर्नेमा उनले जोड दिए। त्रिविलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन शैक्षिक गुणस्तर र अनुसन्धान क्षमता अभिवृद्धिसँगै संस्थागत सुधार आवश्यक रहेको उनले बताए। त्रिविले देशको उच्च शिक्षा, जनशक्ति निर्माण र राष्ट्र निर्माणमा ऐतिहासिक योगदान पुर्‍याएको उल्लेख गर्दै मन्त्री पोखरेलले बदलिँदो समयअनुसार विश्वविद्यालयलाई अझ गुणस्तरीय, समावेशी, पारदर्शी र प्रविधिमैत्री बनाउन सबै पक्षबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताए।

News by त्रिविको परीक्षा र नतिजा प्रणाली विकेन्द्रित गर्न शिक्षामन्त्रीको निर्देशन :