चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 452 of 1156
  • 2026-11-23
  • 19:42:56
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सुदूरपश्चिममा दुई स्वतन्त्रसहित १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

आगाकी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट दुई जना स्वतन्त्रसहित १८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। सुदूरपश्चिमका सात पहाडी जिल्लामा महिला उम्मेदवारी न्यून रहे पनि तराईका जिल्लामध्ये कैलाली र कञ्चनपुरमा उल्लेख्य सहभागिता छ । सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए । सुदूरपश्चिममा कूल २१० जनाको उम्मेदवारी परेकामा एक जनाको रद्द भएको जनाउँदै उनले तीन जनाले उम्मेदवारी फिर्ता लिएका बताए। महिला उम्मेदवारमध्ये कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकी बिना मगर, आमजनता पार्टी (एकल चुनाव चिह्न) सीता विक, स्वतन्त्रबाट मञ्जुदेवी सुनार र रुपादेवी विष्टले उम्मेदवारी दिएको प्रवक्ता भाटले बताए। कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टी नेपालबाट प्रेमवती राना तथा क्षेत्र नं ३ बाट आमजनता पार्टीकी लक्ष्मीकुमारी विष्ट (भट्ट)चुनावी मैदानमा छन्। यसैगरी, कैलाली निर्वाचन क्षेत्र नं १ मा आमजनता पार्टीकी रुपाकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवाली र नेपाल मजदुर किसान पार्टीकी सुनिता भण्डारा उम्मेदवार छन्। क्षेत्र नं २ मा मितेरी पार्टी नेपालकी सम्झना विष्ट थापा र नेपाल मजदुर किसान पार्टीकी लक्ष्मी पुन मगरको उम्मेदवारी परेको छ। कैलाली क्षेत्र नं ३ मा मितेरी पार्टी नेपालकी सुशीला थापामगर र नेपाल मजदुर किसान पार्टीकी जुनु महतारा शाही उम्मेदवार भएर चुनावी प्रचारप्रसारमा व्यस्त छन्। निर्वाचन क्षेत्र नं ४ मा नेपाल मजदुर किसान पार्टीकी अमृता भुल, क्षेत्र नं ५ मा मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की, राष्ट्रिय जनमोर्चाबाट शोभामणि जोशी र नेपाल मजदुर किसान पार्टीबाट तृषण पुनमगर छन्। सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा एक जना मात्रै महिला उम्मेदवार छन्। यहाँबाट मितेरी पार्टी नेपालकी सरस्वतीकुमारी पाल (मल्ल)ले उम्मेदवारी दिएकी छन्। सुदूरपश्चिममा कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

News by सुदूरपश्चिममा दुई स्वतन्त्रसहित १८ जना महिला उम्मेदवार चुनावी मैदानमा :