काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकारी जिम्मेवारीमा रहेका कर्मचारीले राजनीतिक दल र नेताको चाकडी गर्न छाडेर जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले पदीय मर्यादा र जिम्मेवारीविपरीत राजनीतिक गतिविधिमा संलग्न हुने कर्मचारीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व कुनै राजनीतिक दलको पक्षमा काम गर्नु नभई देश र जनताको सेवा गर्नु रहेको स्पष्ट पारेका छन्। उनले सरकारमा आएदेखि नै कर्मचारीको भूमिका र जिम्मेवारीबारे स्पष्ट सन्देश दिँदै आएको उल्लेख गर्दै अझै पनि नेताको चाकडी र दलको झोला बोकेर राजनीति गर्न सकिन्छ भन्ने सोच कसैले राखेको भए त्यस्तो भ्रम त्याग्न आग्रह गरेका छन्। गुरुङले जनताको कामलाई भन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीलाई कुनै छुट नदिइने बताएका छन्। उनका अनुसार राष्ट्रसेवक कर्मचारी जनताको समस्या बुझ्ने, आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने र देशप्रति समर्पित हुने हुनुपर्छ। उनले कर्मचारीतन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै जनमुखी र जिम्मेवार बनाउने सन्देशसमेत दिएका छन्।


