चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-26
  • 09:05:21
  • बिहिबार,मंसिर ११, २०८३

About Author

विपन्न र सीमान्तकृत बालबालिकाको विकासमा सरकारको प्राथमिकता, युनिसेफसँग सहयोग माग

काठमाडौँ — सरकारले दुर्गम, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा, स्वास्थ्य, समग्र विकास र संरक्षणलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने भएको छ। यसै सन्दर्भमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिकाको विकास र संरक्षणका कार्यक्रम गर्भावस्थादेखि नै सुरु गर्नुपर्नेमा जोड दिएकी छन्। युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेरसँग भएको भेटवार्तामा मन्त्री बादीले मानव विकास सूचकांकमा पछाडि परेका क्षेत्रका बालबालिकालाई लक्षित गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेकी हुन्। उनले दुर्गम क्षेत्र, अति विपन्न परिवार तथा सीमान्तकृत समुदायका बालबालिकाले शिक्षा, स्वास्थ्य र संरक्षणको समान अवसर पाउनुपर्ने बताइन्। बालबालिकाको समग्र विकास जन्मपछि मात्रै सुरु हुने विषय नभएकाले गर्भावस्थादेखि नै उनीहरूको स्वास्थ्य, विकास र संरक्षणमा ध्यान दिनुपर्ने उनको धारणा थियो। मन्त्री बादीले विशेष संरक्षण आवश्यक पर्ने तथा वैकल्पिक स्याहारको आवश्यकता भएका बालबालिकाका लागि मन्त्रालयले तत्कालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराइन्। ती कार्यक्रमलाई प्रभावकारी बनाउन युनिसेफको प्राविधिक तथा अन्य सहयोग र साझेदारी आवश्यक रहेको उनले बताइन्। भेटमा युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराले नेपालमा बालबालिकाको गैरकानुनी ओसारपसार तथा बाल हिंसा न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्न संस्था इच्छुक रहेको बताए। उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न समुदायस्तरमा सामाजिक जनशक्तिको क्षमता विकास आवश्यक रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र बाल संरक्षणका क्षेत्रमा युनिसेफले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। भेटघाटमा युनिसेफका नेपाल प्रतिनिधि एलिस अकुङ्गा, बाल संरक्षण प्रमुख लियोन मुओनीलगायत प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति थियो।

News by विपन्न र सीमान्तकृत बालबालिकाको विकासमा सरकारको प्राथमिकता, युनिसेफसँग सहयोग माग :