चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1086 of 1102
  • 2026-10-05
  • 18:51:56
  • सोमबार,आश्विन १९, २०८३

About Author

बलात्कार मुद्दामा फसाउने धम्की दिई १२ लाख असुल्ने ५ जना पक्राउ

दाङ — बलात्कारको मुद्दामा फसाउने धम्की दिई व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुषलाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपाली छन्। प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका उनीहरुले नारायणपुरमा सुनचाँदी पसल गर्ने दिनेश घर्तीमगरलाई योजनाबद्धरुपमा साउन २६ गते राति प्रमिलाको कोठामा बोलाई घेराबन्दी गरेर रकम माग गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । सुरुमा उनीहरुले घोराही बजारमा रहेको घेडेरी माग गरेको र पछि १२ लाख २० हजार रुपयाङ्ग लिएको उनले जानकारी दिए। उनीहरुले १ लाख नगद, २र२ लाखका दुई थान चेक र ७ लाख २० हजारको अर्को चेक लिएको उनले बताए। पक्राउ परेका पाँच जनाका साथै स्थानीय अजय बुढाथोकी र लोकेन्द्र मगर समेतको सहभागितामा एक महिनादेखि दिनेशलाई फसाएर रकम असुल्ने योजना बनेको प्रमाणहरु फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए। अजय र लोकेन्द्र फरार रहेको र उनीहरुको खोजी भइरहेको गौतमले जानकारी दिए। गौतमका अनुसार प्रमिलालाई सुनको तिलहरी बिक्री गर्ने बाहनामा दिनेशको पसलमा पठाएर चिनजान गराउने, फोन नम्बर साटासाट गराउने र नियमित कुराकानीमार्फत नजिक बनाएर कोठामा बोलाउने योजना उनीहरुले बनाएका थिए। कोठामा आएको मौकामा सबै आएर ढोका खोल्ने र बलात्कार गर्न खोजेको भनेर अप्ठेरोमा पारी उनीहरुले रकम असुलेको गौतमले बताए। उनीहरुविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २५३ को उपदफा ३ (ख) अन्तर्गत आपराधिक लाभ कसुरमा साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको उनले बताए। उक्त दफामा कसैले व्यावसायिक या गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

News by बलात्कार मुद्दामा फसाउने धम्की दिई १२ लाख असुल्ने ५ जना पक्राउ :